छोरा पहिलोपटक स्कुल जाँदा

जेरुसेलम, माउन्ट ओलिभ, इजरायल ।
बितेका दिनहरु फर्कंदैनन – समयको नियम । तर सम्झनाहरु भने बारम्बार फर्किरहन्छन, हृदयको ढोका ढकढक्याउदै ती फेरि फेरि आइरहन्छन । म सम्झन्छु, जेरुसेलम जैतुनको पहाडैमा अवस्थित रेड क्रिसेन्ट अस्पताल । तिमीले पहिलोपटक यस धर्तीमा पाइला टेक्दा म भित्र जुन खुसिको लहर उर्लिएको थियो, त्यसको उच्चताको मापन संसारका कुनै पनि यन्त्रहरुले गर्न सक्ने छैनन ।

तिमी पहिलो पटक उभिंदा, पाइला सार्दा र तिम्रा कलिला ओठहरुले ‘बाबा’ भनेर सम्बोधन गर्दा अनि आज कपि र कलम बोकेर तिमी स्कुल जाँदा म भित्र त्यस्तै चरम खुसिहरुको पुनरावृत्ति भैरहेको छ । साच्चै मान्छेको मनलाई रमाउन कुनै न कुनै बहाना चाहिँदो रहेछ । चिन्तित भएको घडी होस् या कुनै कारण उदास भएको बेला पनि जब तिम्रो हसिलो अनुहार देख्छु, म सबैथोक बिर्सिएर त्यसै त्यसै रमाएको हुन्छु ।  मैले आफ्ना जीवनका धेरै पीडाहरु तिम्रै मुस्कान हेरेर भुलेको छु । तिम्रा चंचल आँखामा मैले धेरै सपनाहरु देखेको छु ।

प्रिय कौस्तुभ,

तिमी नेपाल गएपछि मैले तिमीलाई धेरै ‘मिस’ गरेको छु । आजभोली म यति व्यस्त भएको छु कि पुराना दिनचर्याहरू विल्कुल बद्लिएका छन मेरा । अझ धेरै एक्लो, अझ धेरै बेखबर अझ धेरै विरानो … बारम्बार सोच्छु – यस्तो कहिलेसम्म ? अझै कतिन्जेल बस्ने होला यसरी यौवनको उर्जा र पसिनाहरू पराइ भूमिमा सिंचेर ? वैंश र रहर विदेशी माटोमा मिलाएर ? घर कहिले फर्किने होला  ?

मैले लेखेका यी हरफहरु पढ्न र बुझ्ने हुन तिमीले अझ केही समय बाकीं नै छ । तर हरेक दिन कम्प्युटरको स्क्रिनबाट ‘ पापा बल खेल्न आउनुस न’ भनेर जब तिमी बोलाउछौ, म बिर्सन्छु यसबेला  हाम्रो बिचमा कति अग्ला अग्ला पहाडहरु, खोला नालाहरु, समुन्द्र्हरु र सैयौं माइलको दुरी छ । ती सबै  मेटिएझैं लाग्छ र म तिम्रै समिप भएझैं तिमीसंग खेल्न हतारिन्छु ।

तिमी पनि त्यहाँ एक्लै भएको बेला सोच्दा हौ, सधैं किताब पल्टाएर वा कम्प्युटर चलाएर धुमधुम्ती बस्ने पापा आजभोली कता हुनुहुन्छ होला ? अहिले पनि चौरमा निस्किएर बल खेल्नु हुन्छ कि हुन्न होला ?

कौस्तुभ तिमीले हल्ला गरेको, सामानहरु ‘बलागान’ छरपष्ट पारेर बदमासी गरेको कोठाको प्रत्येक कुना कुनामा अझ ताजै छ, तिमी दौडिएको, उफ़्रिएको ।  मेरो एकलकाटे स्वभावलाई तिमी च्यालेन्ज दिन्थ्यौ र हास्न सिकाउथ्यौ । तिम्रा ओठबाट निस्कने सुरिला स्वरहरुले मेरो जीवनको गीतमा संगीत भरेका थिए ।

आज तिमी पहिलोपटक स्कुल जान शुरु गर्दा म धेरै हर्षित भएको छु । मध्यरात भएको छ, सारा शहर निदाएको बेला म तिम्रो यादमा हराईरहेको छु र यो रातको समय चोरेर त्यही हर्ष लेखिरहेछु, खुसि लेखिरहेछु । मैले मेरा सपनाहरु अब तिम्रो आँखामा देख्न थालेको छु, जसरी तिम्रा हजुरबुबाले म पढ्न स्कुल जाँदा शायद त्यस्तै सपनाहरु देख्नु भएको थियो ।

छोरा, बुझ्ने भएपछि तिमीले यी प्रश्नहरुको उत्तर आफैं खोज्नू ।

आज किन घरमा हुनुहुन्न बाबा ?
भोली किन घरमा हुने छैन छोरा ?
र यो परदेश नियति हाम्रो भाग्यमा कहिलेसम्म लेखिईरहन्छ   ?

2 Comments

  • सन्तानका आँखामा हरेक बा-आमाले पक्कै यसैगरी सपना साँच्दा हुन् । पुस्तौनी रोग या आदत हो यो । अभिभावकको मनको कुनामा अटेसमटेस ममता त झन् भन्नै परेन ।

    छोरालाई दिइएका प्रश्नहरु मार्मिक छन् यो सिंगो ब्लग जस्तै ।

    परिस्थितिको एउटा हाँगो हो परदेश । त्यस्तो हाँगोमा झुलिरहेका छन् तपाईं जस्तै बा-आमा । फरक कति भने, त्यसलाई यति गम्भीर र मिहीनतापूर्वक कमैले बोध गर्छन् । खोला झैं सलल भोगाइ हुन्छ धेरैजसोको ।

    छोरो हिरो रै'छ । उमेरमा बा ले भन्दा बढी नै आँखाहरुमा 'इशारा' प्रसार गर्ने छनक देखियो 😉

  • धाइबा, त्यही त भन्छु म पनि -यो सपनाको प्रकृति नै यस्तो हुदोरहेछ देखुँ भनेर नदेखिने, नदेखुँ भनेर नछेकिने । हेहे हसाउनु भयो – उमेरमा म जस्तै इशारा गर्न थाल्यो भने त्यसलाई थप्पड हानेर ठिक पार्नुपर्छ भन्ने हाम्लाई लाइरा'छ । मिठो प्रतिक्रिया दिनु भएकोमा धेरै धन्यवाद ।

Leave a Comment