घरपकड, निर्वासन र क्रुर इजरायल

टेबलमा “मोड” उस्तै गरि पल्टी रहेको छ । जहाँ एउटा विवश नेपालीले वैदेशिक रोजगारीको शिलशिलामा अनेकौं उकाली, ओराली, जंघार र घुम्तीहरु हुदै संसारका विभिन्न देशहरुमा पुगेका, उसले भोगेका जीवनयात्रा र घटनाक्रमहरुका संस्मरण लेखिएका छन ।

अस्तिको भेटमा उहाँले भनेका शव्दहरुको सम्झना आउछ – इजरायलमा कुनै तडकभडकबिना आपसी हातेमालो, मिलाप, सौहाद्रता र जीवन बोकेर बाँचिरहेको यदि कुनै साच्चिकै संस्था छ भने म अनेसास इजरायललाइ सबैभन्दा पहिले सम्झन्छु । त्यो साँझ नई गणेश दुर्गा पुरस्कारबाट पुरस्कृत श्रष्टाद्वय दीप्स शाह र उमा सुवेदीको अभिनन्दन तथा नेपाल फर्कने क्रममा रहनु भएका सोमेन्द्र घिमिरे र उमा सुबेदी स्वयमको विदाई कार्यक्रम थियो ।

सस्मरणात्मक कृति मोड भित्र एउटा प्रतिनिधि परदेशीले भोगेका असंख्य मोडहरुका बयान गर्ने उनै एक यात्री हुन नयन्द्र चेम्जोंग । बारुदको खेति गरेर छिमेकी तर्साउने देश इजरायलमा उनको वसाई अवैध भएको घोषणा गर्छ – यो देशको अध्यागमन निकाय र स्वदेश फर्काउन चाहन्छ ।

अविष्मरणीय झरी र असिना

कृष्ण भाइ ! मान्छेको जीवन केवल भोगाई र अनुभूतिहरूको संगालो मात्र हो । मेरो जीवनमा पनि यस्ता अनेकौं तिता मिठा अनुभूतिहरु गासिएका छन र यो घटना पनि त्यस्तै एउटा अनुभव भयो, कुनै गुनासो छैन । मैले हिड्नु पर्ने नेपालका बाटोघाटो पाखा पखेरोहरुले मलाइ पर्खिरहेका छन ।

मन गह्रुङ्गो भएपछी कुरा गर्ने र सहानुभूति बाड्ने हिम्मत नै नभएजस्तो, गला रोकिएजस्तो सयथरी अनुभूतिहरुले आफुलाई एकै साथ थिचिरहेको बेला उहाँ उल्टो मलाइ नै सम्झाई रहनु भएको थियो ।

केही दिन अरु साथीभाई संगै बसौं, हाँसखेल गरौँ र कुनै पक्का योजना सहित स्वदेश फर्कौं त्यत्ति मात्र थियो कोशिस । गल्ति आफ्नै, त्यो ढिलो भयो र यो देशले मानेन, यहाँको नियमले मानेन, स्वीकार गरेको छु ।

म पार्क लुमिमा गएको बनभोज सम्झन्छु । इजरायलमा रहनु भएका थुप्रै साहित्यिक मनहरु एकै साथ् भेला भएर हाँसेका, रमाएका थियौं, कविता सुनाएका थियौं । र त्यही खुल्ला आकाशतल संस्मरणात्मक कृति मोडको विमोचन गरेका थियौं । बिचमा जब झरी परेथ्यो, झरीमा रुझेर अतालिई रहेका साहित्यिक मनहरुलाई सम्बोधन गर्दै उहाँले भन्नु भएको थियो – “यो झरी परेकोमा अहँ कुनै दुख छैन, यसले त सम्झना अरु अविष्मरणीय बनाइ दिएको छ । सोच्दैछु – अब असिना पनि बर्षियोस र चुटोस हामीलाई ।”

कुनै पनि घटनालाइ हेर्ने फरक धार या एउटा पृथक दृष्टिकोण उहाँ संग थियो त्यो व्यक्तित्वलाई म हार्दिक प्रशंसा गरिरहेछु । जसको जीवनमा पटक पटक असिना बर्षिएको छ र फेरी उ उस्तै मुस्काई रहेको छ ।

मान्छे नअट्ने गाउँ

विदेशिने र विदेशबाट स्वदेश फर्कने नेपालीहरुको लर्को सधै उस्तै छ थामिएको छैन र छिटै थामिदैन पनि शायद । त्यसो र ऋणका पोकाहरु फुकाएर एकमुठी सन्तुष्टिको गाँस लिने, एक छाप्रो वास र एक धरो कपासको जोहो गर्ने लोभ बोकेर परदेश लागेका धेरै संग ती सपनाहरु फर्कने बेला सम्म ज्युँ का त्यूँ हुन्छन । अझै केही समय थपेर पसिनाको विनिमय अरु केही गरुँ न त भन्न चाहने कति छन कति ? उनीहरुसंग स साना खुसिहरु किन्न सक्ने गरी कमाउन अझ पसिना बगाउने धोको हुदो हो । जसका आँखामा सन्ततिको सुन्दर भविष्य पनि गासिएको हुँदो हो ।

यहाँ स्थित गैर सरकारी संस्था काभ ला ओभेद (श्रमको सम्मान) कि संस्थापिका हाना जोहार इजरायल सरकारलाई बारम्बार भनिरहेकी छिन – “तिमीले गर्न नसक्ने या नरुचाउने अप्ठेरा कामहरुमा सघाएर, श्रम र पसिना बेचेर अरु २/४ पैसा कमाउन इच्छुक गरिब देशको नागरिकलाई तिमी किन अपराधीको नज़रले हेरिरहेका छौ ?”

त्यसभन्दा पनि माथि उठेर मानव अधिकारवादी संस्थाहरु एकै स्वरमा भन्छन – “जाति धर्म र राष्ट्रियता भन्दा ठुलो मानवीयता हो । धर्तिको जुन कुनामा पुगे पनि उ सबभन्दा पहिले एउटा मानव हो, हास्ने खेल्ने, काम गर्ने उसको उत्तिकै अधिकार छ जति तिम्रो छ । राजनैतिक स्वार्थका लागि बनाइएका कानुनले मानव अधिकारको हनन नगरोस ।”

लुकेर भागेर, छेकिएर शरणार्थी बनेर हात उठाएर पनि मान्छे अटाउन सकेको छैन यहाँ । घरदेश होस् वा परदेश जहाँ पनि मान्छे तिरस्कृत भएकै छ पटक पटक । मलाइ यो स्थितिबोधले अत्यन्त उदेक लागेर आइरहेको छ कि मान्छे अटाउने गाउँ मान्छेकै मन मात्र रहेछ त्यसबाहेक उ कहीं अट्दैन ।

धन कमाउने सपना

थाहा थिएन कुन विवशताले हामीमा डेरा जमाएको थियो ? अँध्यारो, बन्द, द्वन्द, ढुङ्गा इटाका टुक्राहरु, भाचिएका रेलीङहरु, अस्थिर राजनीति, अशिक्षा भोक गरिबी र शुन्यता … । देश समझदा सल्बलाउने यस्तै दृश्यहरुको नमिठो अन्तरद्वन्दले हो या मनमा साचेर राखेको भोलीको एउटा सपना र जिवनमोहले डोर्याएर हो, मान्छे शरणार्थी भै दिएको छ । युरोप, क्यानाडा र अमेरिकामा धेरै नेपालीले यो विवशतालाई हात उठाएर आत्मसात गरेका छन ।

इजरायल सरकारले भर्खरै दोश्रो चरणको संसदीय निर्णयबाट केयरगिभर सम्बन्धी नया कानून पास गरेको छ । वृद्धवृद्धा नागरिकको हेरचाहका लागि विदेशबाट झिकाइएका कामदारहरुलाई लागु हुने यो कानूनका अनुसार उ अर्को शहरमा काम गर्न जान पाउने छैन, उसले त्यही स्थानमा रहेर त्यस्तै प्रकृतिको बिरामीको मात्र हेरचाह गर्नु पर्नेछ र सिमित संख्यामा मात्र रोजगारदाता परिवर्तन गर्न पाउनेछ ।

दासत्वका आधुनिक नियम कानून निर्माण गरिरहेको छ यो राष्ट्र र गरिब देशका निरिह नागरिक हुनुका विवशता माथि प्रहार गरिरहेको छ । जस्तो सुकै परिस्थितिमा पनि जीवन जस्तै बनेर आत्मसम्मान हरेक मान्छेको अन्तरमा बाचिरहेकै हुन्छ तर त्यसको स्वरूप र परिभाषा भने देश, काल र स्थिति अनुरुप सापेक्षित हुदै जाँदो रहेछ र जसले सम्झौतालाई स्विकार्दो रहेछ । के हो आत्मसम्मान र स्वाभिमानको परिभाषा ? म पटक पटक अन्योलमा परेको छु ।

यो बाध्यता हो यस्ता कति नियम कानुनले हामीलाई पराइको आँगनमा एउटा दासत्व स्वीकार्न विवश बनाई रहेका छन, हामी मौन यसकारण छौं कि हामीसंग सपना छ र त्यो सपना हामीलाई असाध्य प्यारो लाग्छ । जापानका गज़ल्कार मित्र कृष्ण ‘काल्स’को गज़ल संग्रहको शिर्षक जस्तै – ” धन कमाउने सपना ”

कंशका दूतहरु

तेल अभिभ सेन्ट्रल बस स्टेशनको पछिल्तिर सलामे स्ट्रिटमा नेपाली दम्पति द्वारा संचालित माल्का बेबी केयर सेन्टरमा खासखुस चलिरहेको छ – रोशनीलाई नाबालक छोरासहित पुलिसले पक्राउ गर्यो नि, बिचरी । इजरायलमा कामदारको रुपमा आएका धेरै आमाहरु दुधे बालकलाई काखमा च्यापेर सोचिरहेका छन – कतै मलाइ पनि भोली पुलिसले पक्राउ गरेर निर्वासित गर्ने त हैन ?

इजरायल उसको धार्मिक यहुदी राज्यको परिकल्पनामाथि भोली सङ्कट आउन सक्ने भयले आज यति मानवाधिकार बिरोधी हुदै गैरहेको छ कि उ कसैको कुरा सुन्दैन । उसले यतिखेर बिर्सेको छ कि इतिहासमा उ कतिपटक अरुको घरमा शरणार्थी भएर संघर्ष गरेको छ , पटक पटक लखेटिएको छ, धपाईएको छ, तिरस्कृत भएको छ र आमसंहारको शिकार भएको छ । उसले आज आफैले त्यही हिटलरी प्रक्रिया दोहोर्यान कुन नैतिकताले दिन्छ ? यसर्थ पनि उ यसरी क्रुर हुनु हुदैन – यस्ता कदमहरुको यसबेला इजरायलीहरु नै बिरोध गरी रहेका छन, भनिरहेका छन – इजरायलमाथि पर्न सक्ने सङ्कट न त अवैध मानिएका कामदार हरु हुन्, न त अबोध शिशुहरू । यदि हो भने धार्मिक राज्य बनाउने नाउँमा अधर्मी भएर एकपछि अर्को कडा नियम बनाउदै जानु र क्रुरताको परिचय दिदै स साना निहुँमा छिमेकिहरुमा आक्रामक नीति बनाउनु उसको संकटको कारण हुनसक्छ ।

इजरायलको यो कंश चरित्रबाट रुष्ट भएका समाजसेवी तथा अधिकारकर्मीहरुले एउटा यस्तो भूमिगत संजालको निर्माण गरेका छन जसले हरेक दिनजस्तो सैयौं वालवालिकाका बा – आमाको मोबाइलमा एकैपटक प्रहरीका गोप्य सुचना प्रसार गरेर सघाइरहेका हुन्छन ।

“आज ठिक यतिबेला फलानो शहरको फलानो स्ट्रिटको यति नम्बरको घर नजिक अध्यागमन प्रहरी देखिएको छ त्यो बाटो नहिड्नु .. सतर्क भएर बस्नु ।” मोबाइलमा संदेश आएको देखेपछी बच्चा खेलाउदै गरेकी एउटी फिलिपिनी पार्क बाटै शहरको एक कुनामा अलप भइ । उसलाई लाग्न थालेको छ यसरी कहिले सम्म सकिएला र ?

भन्न त संदेश पठाउनेहरु यसो पनि भनिरहेका छन, यदि पुलिस तिम्रोमा आयो भने तत्काल हामीलाई मेसेज गर्नु १० मिनटमा हामी आउनेछौं र प्रतिकार गर्नेछौं । यस्तो उद्धारको वचन पनि अति संवेदनशील मानिएको वालवालिकाका बिषयमा मात्र केन्द्रित भएको छ, कारण अवैध मानिएका हजारौं कामदारहरुको तथ्यांक र सम्पर्क उनीहरु संग छैन । राज्य र कानुनका अघिल्तिर हटलाइनको यो सदाशयता र विरोधले कुन अर्थ राखोस ? यस्ता झिना संकेतहरु छक्याउदै गल्ली गल्ली पुलिसहरु आफ्नो शिकारको खोजीमा निस्किरहेका छन । सावधान !

3 Comments

  • हो कृष्णपक्ष जी सपनाको भारी बोकेर बिदेशिने हामी नेपाली यसरी नै हेपिन्छौं , चेपिन्छौं र अन्तत लखेटिन्छौं । अनी कृष्णपक्षहरुका भावुक मनबाट करुण कथाहरु यसरी नै लिपिबद्द हुन्छन् । इजराइल पुगे जत्तिकै अनुभुती दिलाउन सफल भयो तपाईंको पोस्ट। धन्यवाद ।

  • म एडम्स केभिन, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर प्रयास गर्न व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल (adams.credi@gmail.com) अब हस्तांतरण ठीक जारी युद्धमा ऋण कागजातहरू गरेर हामीलाई सम्पर्क। के तपाईं पनि aiico बीमा plc.you बहुत स्वागत छ इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भने हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं (aiicco_insuranceplc@yahoo.com) एक व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता छ।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

Leave a Comment