कृष्णपक्षको शुक्ल संकेत – जिके पोखरेल (पुलेसो )


सिर्जनाको मूल्यबोध न भ्याल्युमा हुन्छ न त भोल्युममा नै ! त्यसको आफ्नै सत्ता हुन्छ पाठकसित सिधा सम्पर्कको । र, प्यास बोकेर बसेका पाठकको असीमित ‘तिर्खा’ मेट्ने जिम्मेवारी हुनुपर्छ लेखकको । हुन त लेखक र पाठकको सत्ता सकुनी पाशाजस्तै हुन्छ, महाभारतको । एक सिक्काका दुई पाटा, जो समिपमा भएर पनि सम्मुख हुनै सक्दैनन् । उता साउनको उत्तरार्धमा ‘रूखो झरी’ बोकेर नेपाली आकाशको कालो बादल मडारिएर देश जलमग्न र पैरोले ध्वस्त भएको छ । यता भदौको पूर्वार्धमा काव्यिक ‘तिर्खा’को कुराले पाठकमा क्रोध नै जन्मिहाले पनि अन्यथाचाहिँ हुनेछैन ।

‘कृष्णपक्ष’ उपनामधारी कृष्ण थापाले ‘तिर्खा’ नाम राखेर मध्यम कलेवरको किताबमा बाइस थान छोटा कथा समेटेर बर्खायामको गर्मीमा ‘तिर्खा’को कुरा उठाएका छन् । इजरायलमा कार्यरत नेपाली युवाको अन्तष्करणले देखेको मध्यपूर्वी एसियाको जीवनपद्धतिको रूपमा किताबका पानाहरूमा अङ्कित भएर आएको ‘तिर्खा’लाई डायोस्पोराको डकार सम्झिने छुट पनि छ पाठकलाई । तर, बुझ्नुपर्ने के छ भने यो इजरायलमा बस्ने नेपालीको बासी आप्रवासी ह्याङओभर होइन । विदेशी कामदारको हैसियतले युद्धग्रस्त क्षेत्रमा जीवन व्यतीत गर्नुपर्दाका तीतामीठा सम्झनाको सौगात भन्दा झन उपयुक्त हुन्छ यसलाई । गत महिना इजरायल र प्यालिस्टाइनको गाजा क्षेत्रमा राम्रै ‘बमदोहोरी’ चल्यो । रूस र युक्रेनको ‘क्षेप्यास्त्र देउडा’ पनि हेर्न लायक थियो । यी र यस्तै द्वन्द्वको चपेटामा परेका विश्वमानवका साझा वेदना पात्रहरूका अनुभूतिसँग घोलेर सिर्जना गरिएका यथार्थपरक घटनाहरूको नालीबेली छ किताबमा ।

संस्कार, संस्कृति, मानवतावाद र विश्वपरिवेश सेटिङका उम्दा कथाकार हुन् ‘कृष्णपक्ष’ । विहान गड्गडाएर बेलुका सुक्ने खहरे खोलाका कित्तामा राख्न सकिँदैन यिनका कथालाई । माक्र्सवादीहरूले भन्ने गरेको ‘बुर्जुवा कित्ता’का यी ‘कामदार’ लेखकले विदेशी भूमिमा पसिना मात्रै बगाएनन्, उब्रिएको थोरै समयमा लेखेका कथामा दिमाग पनि लडाएका छन् । फुर्किने र सुर्किने नेपाली लेखकहरूका साझा प्रवृत्तिहरूबाट बचेर आगामी दिनमा आफूमा केही सुधार ल्याउन खोजे भने यी ‘तिर्खालु’ कथाकार कृष्णपक्षका कथा शुक्लपक्षजतिकै शीतल र चम्किला बन्नेमा शंका गर्नुपर्दैन ।

‘तिर्खा’ कथासंग्रहका सर्जकको नोस्टाल्जिक पाटो ढलान नगरेको पुलजत्तिकै कमजोर छ । ‘तिर्खा’ र ‘कहाँ गइस दिदी’बाहेक अरू कथाले पाठकको मन जित्छन् भन्ने भ्रम नपालेको भए हुन्थ्यो लेखकले । तर पारदेशिक स्थान, काल र पात्रका मनोदशाको चित्रण गरिएका ‘नूर एल आइन’, ‘अर्को मृत्युको कथा’, ‘बा’, ‘ईश्वरको तस्बिर’ आदि कथाले नेपाली कथाको क्षेत्रमा आफ्नो ‘स्पेस’ बनाउने हैसियत राख्छन् । भाषिक कला र बिम्वको भरमार प्रयोगले कथा पढुञ्जेल लेखकलाई सराप्नु पर्दैन, बरू समय कटानीको राम्रो बहाना बन्न सक्छ ।
कथाको परिवेश सेटिङ, वस्तुविन्यास, चरित्राङ्कन र भाषिक कलाको तालमेलमा यदाकदा कथाको विधातात्विक चिन्तन पराजित भएको देखिन्छ । कथा पढ्दै जाँदा निबन्ध हाबी भइदिन्छ । र, पात्र त कता विलाउँछ कता । यतिखेर झिनो कथानक ९एयित० आकाशम्म बिलाएको बोइङ विमानजस्तो थर्को मात्रै छोडेर हराउँछ । भाषा खिरिलो छ, वस्तुविन्यास पत्यारिलो छ र, छ परिवेशको अनुपम बान्की । यी तीन कुराको यस्तो राम्रो सेटिङ हुँदाहुँदै पनि बबुरो ‘प्लट’ कतै शून्य आकाशमा हराएको पात्रको खोजीमा जुनकिरीको पीँधजस्तो धिपाधिपे टुकी बालेर खोजी हिँड्छ ।

अर्को कुरा यो अाधि उपन्यास हो । अर्थात्, कथोपन्यास । कथाको लेखक कृष्णपक्ष र बहुकथाको पात्र कृष्णले इजरायली भूमिका आख्यानचूर्णहरूलाई एउटै मालामा उन्न ‘न्यारेटेर’को भूमिका खेलेको प्रतीत हुन्छ । यस क्रममा इजराइल–अरब संघर्ष र त्यसले निम्त्याएको ‘गाउँलाई नै निर्जन बनाउने दीर्घक्रीडा’ भित्रका धार्मिक–राजनैतिक आक्रोशको अङ्कन गरिएको छ । जन्मजात दुस्मनीका कारण त्यस्ता दुई जात र दुई धर्मका बीचमा तेस्रोमुलुक (युरोप–अमेरिका) ले राम्रोसँग चलखेल गर्न भ्याएको राजनीतिक यथार्थको पाटोमा अन्देखा हुन खोज्नु लेखकको ‘फ्लप चतुर्याइँ’ साबित भएको छ । तथापि सुरूदेखि अन्त्यसम्म एकै बसाइमा पढिसक्ने हो भने आख्यानहीन उपन्यासको स्वाद चाख्छ पाठकले ।
०००
‘जीवनका अनेक रूपहरू छन् । रङहरू छन् । आयामहरू छन् । मौसमसँगै र परिवेशसँगै मानिसका कथाहरू कति लेखिन्छन् कति । यसरी प्रत्येक मानिस आख्यानका अलिखित अध्यायहरू बाँचेका हुन्छन्,’ यो प्रस्टोक्ति लेखक स्वयंको हो । यस हिसाबमा कथाकार कृष्णपक्ष शुक्लपक्ष बनेका छन् पात्रहरूको जीवनचित्रको उत्खननमा । राज्य, कानुन र वर्गशीर्षको रेखांकनबाहिरका प्राणी ठानिएका सडकछापको ‘हिरोइज्म’ चर्चेर लेखकले पाठकीय सहानुभूति र संवेदना जित्ने उपक्रममाथि विजय प्राप्त गरेका छन् । यद्यपि, यस सिलसिलामा उनले संवेदना र सहानुभूति बिक्री गरेर सस्तो लोकप्रियता कमाउने ‘लुब्ध शैली’को भने तिरोहण गरेका छन् । यी कथा बालुवाउपर बिस्कुन फिँजाएर तिर्खैतिर्खा तड्पीएको मरूभूमिका व्याथा मात्र होइनन् । लेखक आफैँ भाँैतारिएका परदेशका प्रतिविम्ब र नोस्टाल्जिक मनले कोरेका आम मानिसका साझा संवेदना पनि हुन् ।

सत्य एउटै हुँदैन । र, सापेक्ष अर्थ आरोपित हुन्छ सत्यको । यस सन्दर्भमा गत महिना विश्वको समाचारको स्रोत बनेको इजरायली आक्रमण ‘सापेक्ष अर्थ’का रूपमा उल्लेख्य देखिन्छ । नेपाली युवा पत्रकारले ‘गाजाका हातहरू’ बनाउन सहयोग याचना गरिरहँदा उता इजरायलमा बस्ने नेपाली युवाचाहिँ त्रासमा पिल्सिरहेका थिए भन्ने यथार्थको चित्रण छ यी कथाहरूमा । त्यस स्थान र कालका सामाजिक, राजनीतिक, भौगोलिक र पारदेशिक भोगाइको पृथक् अर्थसम्प्रेषणमा केन्द्रित छन् यी सीमापारिका कथाहरू ।

संस्कार, संस्कृति, मानवतावाद र विश्वपरिवेश सेटिङका उम्दा कथाकार हुन् ‘कृष्णपक्ष’ । विहान गड्गडाएर बेलुका सुक्ने खहरे खोलाका कित्तामा राख्न सकिँदैन यिनका कथालाई । माक्र्सवादीहरूले भन्ने गरेको ‘बुर्जुवा कित्ता’का यी ‘कामदार’ लेखकले विदेशी भूमिमा पसिना मात्रै बगाएनन्, उब्रिएको थोरै समयमा लेखेका कथामा दिमाग पनि लडाएका छन् । फुर्किने र सुर्किने नेपाली लेखकहरूका साझा प्रवृत्तिहरूबाट बचेर आगामी दिनमा आफूमा केही सुधार ल्याउन खोजे भने यी ‘तिर्खालु’ कथाकार कृष्णपक्षका कथा शुक्लपक्षजतिकै शीतल र चम्किला बन्नेमा शंका गर्नुपर्दैन ।

Leave a Comment