एकछिन मनको सडकसँग

पहिले पहिले ‘इतिहासको ब्याज’ भन्ने वाक्यांश खूब प्रयोग गरिन्थ्यो । मेरा पुराना मित्रहरु ! त्यसको अर्थ कसकसलाइ थाहा छ ? हुन त जजसलाई थाहा छ, उसले मेरो ब्लग पढ्छ भन्ने के ग्यारेन्टी ? अनि जसले यो ब्लग पढ्छ उसलाई ‘त्यो’ इतिहासको बारेमा के थाहा ?

यो हप्तापनि व्यस्ततामै बित्यो । व्यस्त शहरजस्तै लाग्छन दिनहरु, जहाँ अति व्यस्त सडकहरु छन, यो मनको सडक हो । जो यति छिटो बग्छ,कुनै ट्राफिकबिना कुनै नियम बिना .. कुनै रोकावट बिना — अनवरत । यो सडकको भीडमा अनेक कथाहरु छन, व्यथाहरु छन, अनेक बहानाहरु छन । जस्तै – एउटा फुल छ, पत्थर छ, एउटा अनुराग छ, एउटा प्रेम छ -एक नम्बरको मौसमी, एउटी युवती छे- – एकदम चंचल, जसको पहिलो प्रेम भएको छ कुनै युवकसँग । तर प्रेमको मौसम यतिखेर पतझर भएको छ । सडकमा रहर र सपनाका पातहरु ओइलिएर झरेका छन, यो मनको सडक हो ।

शहर, प्रेम, सडक, युवक, युवती, मन फुल र पत्थर…..सबै पात्रहरु काल्पनिक होइनन । यिनीहरु सही र असली पात्रहरु हुन् । बस, यिनको ठेगाना भने भेटिदैन, यिनीहरुको सम्बन्धलाई मेरो एउटा गज़लमा खोज्ने कोशिस गरौँ न त ।


सानो एउटा सानो प्रेम कहानी छ छातीभित्र
वैलिएको फूलजस्तो जवानी छ छातीभित्र

कोल्टे फेर्दै कल्पनामा सिंगै रात ढलेपछि
प्रहर प्रहर प्रतिक्षाको बिहानी छ छातीभित्र

कुन ऋण कस्तो ऋण ? कैले लिएँ थाहा छैन
प्रेमीजस्तो एउटा मान्छे जमानी छ छातीभित्र

प्रतिबिम्ब कस्तो देख्यौ, शिशाको यो वदनमा
पत्थरले चर्किएको निशानी छ छातीभित्र

कहाँ राखूँ तिम्रो प्रेम, सम्हालेर जतनले
मनमुटु जले पछि, खरानी छ छातीभित्र

यो फेसबुकमा पनि छ ।

2 Comments

  • कृष्णपक्ष, तपाईँले लेखेका कुराहरुले खुब चित्त बुझ्छ । तपाईँको लेखनमा म त पल्किएँ । छाड्दिन अब म तपाईँलाई । तपाईँलाई फेसबुकमा पछ्याउँछु । ब्लगमगै पछ्याउँछु । तपाईँका रचना जहाँजहाँ छापिन्छन्, त्यही त्यहीँ पुग्छु ।

  • धेरै धन्यवाद जयजी ! तपाईको मिठो प्रतिक्रियाले धेरै खुसी र उत्साह पनि थपिएको महसुस गरेँ ।

Leave a Comment