इन्टरनेट बिनाका पलहरु

कहिलेकाही शहरमा निस्फिक्री उडने बताससँग बग्न मन लाग्छ स्वतन्त्र आकाशमा । तर जीवन त्यति सजिलो कहाँ छ र ? हाम्रो स्वतन्त्रताको खुल्लापनामा अनेकन बाध्यताका पर्खालहरू उभिएका छन । अनेक देशक सीमा र परिधिहरू कोरिएका छन । अनि छन कर्म र नियतिले बनाएका साँघुरा पिंजराहरू जहाँ चुपचाप कैद भएका छौं हामी । विशेषत धेरै रहर र सपना बोकेर हिडेका मजस्तै युवा मनहरू .. ।

परदेश लागेको धेरै वर्ष भएछ यी वर्षहरूमा म प्राय एक्लै भएँ र त्यो स्वाभाविक पनि थियो । यदाकदा शव्दहरूसँग खेल्नु, ब्लग लेख्नु, इन्टरनेटमा रुमल्लिनु र नया कुरा सिक्नु वा धेरै बेर हराउनु मेरो समयका र मैले व्यतित गर्ने दिनचर्याका मुख्य अंशहरू बने ।

आरम्भका घडीहरू असाध्य कठीन हुन्थे, नोस्टाल्जिक भैन्थ्यो । अजंगको दिक्दारीले दिनभरि चिथोर्थ्यो । बडो असहज लाग्थ्यो शायद ‘होमसिक’ यसैलाईभन्दा हुन् । देश दुख्थ्यो, घरि घरि घरको याद आउथ्यो र बाध्यता भन्ने चिज छातीभित्र भक्कानो जसरी बल्झिरहन्थ्यो ।

तर इन्टरनेट को झ्यालबाट चियाउन पाउँदा यिनै दिनचर्यामा अभ्यस्त हुँदै गइयो । सामाजिक संजालहरूमा भुलियो । अभाषी संसार विचरण गर्न सिकियो । अनि समयक्रममा यही एक्लोपना र यिनै अपरिचित भित्ताहरूसँग यस्तरी साइनो गासिएछ कि एकान्त नै प्यारो लाग्ने, अँध्यारो नै मनपर्ने भएछ । हुँदा हुँदा कहिले त यस्तो पनि लाग्थ्यो कि एकान्तको यो सिलसिला कहिले नटुटोस । यसरी नै घन्टौं घण्टा, हप्तौं हप्ता र महिनौं महिना एकान्तमा बसिरहुँ र हराइरहुँ आफैभित्र, खोजिरहूँ आफैलाई ।

तर जीवन सोचेजस्तो कहिले भएन । एकदिन यस्तो घडी आयो कि गत वर्षको उत्तरार्धदेखि मेरो यस अघिको जागिर र इन्टरनेटसँगको अटुट साइनो एकाएक तोडियो । त्यसपछिको नयाँ जागिर ‘खाउँ भने दिनभरिको शिकार नखाउँ त कान्छाबाको मुहार’ जस्तै भएर आयो, विहान देखि साँझसम्म पुरै कम्प्युटर प्रतिबन्धित । यति लामो विदेश बसाईमा ममा विकसित भएको अभ्यस्तता खलबल मात्र भएन, म पुरै हतास भएँ । अनियमित त छदै नै थिएँ म, त्यसमाथि यसरी इन्टरनेट बेगर बाँच्दा यो परदेश कस्तो भयो होला ? म पखेटा काटिएको चराजस्तै भएँ। रातको बसाई बाहेक मसँग अरु कुनै समय बाँकी भएन – लेख्न पढ्न र इन्टरनेट चहार्न । यस्तो कठीन घडीमा सिर्जनशीलता कहाँ बाँकिरहन्थ्यो ?

‘नेभर गिभ अप ‘ मनले जति पटक हरेश खान खोजे पनि मैले आफूलाई यसरी नै सम्झाएँ । कम्तीमा मसँग जागिर छ, वैधता छ अनि आफ्नो र परिवारको ससानो खुसी किन्न सक्ने अवस्थामा यसैले गर्दा छु । सधैं आफूले चाहेको त कहाँ हुन्छ र ? त्यसमाथि यो परदेश । आफूलाई यसरी सम्झाइरहेँ र असाध्य महत्वपूर्ण कार्यहरू रातको इन्टरनेट बसाइमा गर्न थालेँ । यद्यपि इन्टरनेट बिनाका पलहरू असाध्य भारी हुन्दा रहेछन । संसार चियाउने त्यही एउतै झ्याल हुने बन्दीहरूका लागि अत्यन्त कष्टप्रद र छटपटी हुँदोरहेछ । यसरी धेरै समय बिते ।

तरपनि मैले यो मन्त्र दोहोर्याइरहें, ‘नेभर गिभ अप’ र कहिल्यै हरेश खाइनँ । एकदिन मलेसियाका ब्लगर दाजु जनकमान डंगोलले आइप्याडमा नेट चलाउने कुरा कतै लेख्नुभएको थियो, त्यसपछि मैले पनि सानो आइप्याड मिनी किनेँ र कम्प्युटर रेस्ट्रिक्टेड आवरमा पनि लुकीछिपी चलाउन थालेँ ।

यसरी चलाउँदा इन्टरनेटमा गर्न मिल्ने लगभग अधिकांश कार्य गर्न सकिने रहेछ । त्यही बानी पार्न चाहि शुरुमा अलि अप्ठेरो । बिस्तारै नेपालीमा टाइप गर्न सिकें । खोलमै ब्लुटुथ वाला बेतारे किबोर्ड पनि जडान गरेपछि मिनिप्याड लगभग कम्प्युटरको रुपमा आयो । अहिले त फेसबुक र इन्टरनेट मजाले चहार्न थालेको छु ।

यद्यपि केही काम गर्नु पर्दा, साहित्यसंसारमा समाचार अपडेट गर्नु पर्दा वा केही लेख्नु पर्दा रातकी इन्टरनेट बसाई पर्खन्छु । यी यो पोष्ट टाइप गरिरहँदा रातको ११ नाघिसकेको छ । अब कहिलेकाही लेख्छु भन्ने रहर फेरि पलाएको छ । मूड र फुर्सदले साथ् दिए लेख्ने नै छु ।

कृष्णपक्ष
हाल इजरायल
फेसबुकमा म यहाँ भेटिन्छु – http://facebook.com/eKrishnaThapa

Leave a Comment