आमालाई सम्झेर मन ….

आमा सँग कुरा गरेर म भावुक भएछु, कतिखेर आँखा रसाए पत्तो पाइन ।

कम्प्युटरमा आमा हुनुहुन्छ। मेरो झुस्स दारी र केही महिना देखि नकाटेको लामो कपाल देखेर भन्दै हुनुहुन्छ – ‘हन कति अल्छी भाको हँ कान्छा ?

आमाले सपनाको फेर समाउदै हिड्न सिकाउनु भयो, भन्नु हुन्थ्यो – सपनालाई पछ्याउन र पहिल्याउन जान्नु पर्छ मानिसका सपनाहरु साकार हुन्छन । हरेक मानिसका मनमा आ आफ्नै किसिमका लक्ष्यहरु हुन्छन – लक्ष्य नदेखिने टुंगो हो, त्यहाँ सम्म पुग्न धेरै बाटोहरु हिड्नु पर्छ । आमालाई थाहा छ – म त्यही बाटो हिड्दै धेरै टाढा आइपुगेको छु ।

गृष्मको तापमा वाफिएर मन उकुशमुकुश भएको बेलापनि उहाँको दिव्य मुहार सम्झंदा लाग्छ आमाको ममता शितल छहारी हो । परार सम्म मलाइ सानै छु जस्तो लाग्थ्यो । सानोको कुरा गर्दा, त्यो बेलाको सम्झना भयो जसलाई सम्झेर बेला बेला म आफै मुस्काउछु । पहिलो पटक पढ्न जान थालेको थिए, उकालो हिड्नु पर्थ्यो स्कुल पुग्न । शुरुमा त आमालाई छोड्न साह्रै गाह्रो भयो, धुरुधुरु रोएको याद छ । दिदी र दाजुले जबर्जस्ती लैजान्थे । घरको धुरी देखुन्जेल फर्की फर्की हेर्दै जान्थेँ ।

पछि नया नया साथीहरु भए, रमाउन थालेँ । आमाको एउटा बानी थियो, घर फर्केपछि मलाइ काखमा लिनु हुन्थ्यो र टाउको सुम्सुम्याउनु हुन्थ्यो । सोध्नु हुन्थ्यो – मास्टरले आज केके पढाए ?

घर आइपुग्ने बेला त म खुीले लगभग कुदेर आमाको अगाडी पुग्थें । दिनभर त्यसकै प्रतिक्षामा बसेजस्तो लाग्थ्यो ।

तर त्यो दिन अर्कै भयो । पहिलो पल्ट रिजल्ट आउने दिन थियो । पास र फेल छुट्याउने । म उत्कृष्टताका साथ पास भएर कक्षा चढें, मास्टरले कापी र शिसाकलम पुरस्कार पनि दिए । दाजु दिदीले उचाल्दै घर ल्याए ।

मलाइ संसार जितेजस्तो लाग्दै थियो । घरमा पुग्ने बेला आफ्नै उमेरका र केही ठुला साथीहरु पनि जम्मा भैसकेका थिए। सधैं झैं आमाले मलाइ काखमा लिनुभयो र टाउको सुम्सुम्याउनु भयो । तर मलाइ भने आफु ठूलो भएको जस्तो लागिसकेको थियो । साथीहरुको अगाडी लाज लागेको जस्तो पनि भयो । मैले भने – ‘ आमा मलाइ अब यसो नगर्नु न, अब त ठूलो भैसकें नि । ‘
‘ए हो र?’ भन्दै आमा खुब हास्नु भयो ।

पछि पनि मैले यसो भनेको कुरा अरुलाई बेला बेला सुनाएर हास्ने गर्नु हुन्थ्यो । तर त्यसपछि पनि उहाँको बानी भने धेरै समयसम्म गएन । म भागेपनि कताकताबाट थाहै नपाइ म उहाँको काखमा परिसकेको हुन्थें ।

धेरै पटक हिलोमा चिप्लेर पछारिदा आमाले उठाएर सुम्सुम्याएको सम्झना छ । त्यस्तो बेला लाग्थ्यो, आमाको अगाडी ठूलो भएँ भन्नु पनि बेकार रैछ । आमाको सुमसुम्याईमा, आमाको ममतामा हरेक घाउ र चोट निको पार्ने जादु लुकेको छ ।

अहिले दुइ दशक पछि आज म यो कुरा सम्झिरहेको छु । आमाको मुख हेर्ने दिन ।

आज भन्दैछु – उमेरले र समयले जति बुढो बनाउदै लगे पनि आमा ! हजुरका अगाडी मेरो मन सधैं सानै हुनेरहेछ ।

3 Comments

  • पक्कै हो आमाको महानताको अगाडि, जतिसुकै ठूला भए पनि छोराछोरीहरू 'सानै' हुन्छन् । मीठो र जीवन्त सम्झना …मलाई पनि आफ्ना धेरै कुराहरू याद आए यो पोस्ट पढ्दा !

  • कृष्ण जी आमाको ममताको पोस्ट निकै मनछुने लाग्यो |आमाको ममता छोराछोरी जति ठुलो हुदै गयो उति बढ्ने र घट्ने हुन्न| आफ्नु सन्तान जहाँ भए पनि उतिनै माया रहिरहन्छ| आमाको मन मा सधैँ आफ्नु सन्तानको हासो अनि खुसिनै सबै थोक हुन् जान्छ

  • अवसरहरुको टाँसोको हिसाबले हेर्दा म पढ्न र प्रतिक्रिता लेख्न ढिलो आइपुगेको हुँ तर आमाको कुरा – यो खास अवसरमा मात्र हुने कुरै हैन । जस्तो कि, '….आमाको अगाडी ठूलो भएँ भन्नु पनि बेकार रैछ….' तपाईंले नै लेख्नुभएको छ । भित्रसम्म छोइएँ । आमालाई मेरो प्रणाम!!

Leave a Comment